नेपालको नुवाकोट जिल्लामा अवस्थित, महादेव दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ को ग्रामीण नगरपालिकामा रहेको धार्मिक र पर्यटकीय आकर्षण हो।
“सानो पशुपतिनाथ” भनेर चिनिने दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका-६ मा अवस्थित छ। समुन्द्री सतह बाट ४ हजार फीट उचाईमा रहेको यो मन्दिर प्रकृतिको एक अनुपमेय उपहारको रुपमा लिन सकिन्छ । प्रकृतिलेनै सिर्जना गरेको यो सुन्दर शिला मानवीय जीवनको बरदानको लागि सधै समर्पित रहेको छ ।

यो नुवाकोटको लागि मात्र नभई देशको लागि पनि ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ। समुन्द्र मन्थनको क्रममा निस्किएको कालकुट विष सेवन गरेपछि महादेव विचलित भएको र पशुपतिनाथ,दुप्चेश्वर हुँदै गोसाइँकुण्ड पुगेको किंवदन्ती छ।

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।
अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ ।
दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ भक्तजनहरु आउने गरेका छन् ।
धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको छ ।
दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ । दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

दुप्चेश्वर मानव निर्मित नभई हजारौं बर्ष पहिले आफै उत्पति भएको हो, भने यो पत्ता लागेको भने करिव चार सय बर्ष पहिले तिरमात्र भएको किम्बदन्ती रहेको छ । अहिले यसको संरक्षण दुप्चेश्वर क्षेत्र बिकाश कोषले गर्दै आएको छ । दर्शन गर्न आउने भक्तजनहरुको आवस्यकतालाई मध्यनजर गर्दै विभिन्न स्थान हरुमा toilet तथा खाने पानीका धाराहरुको व्यवस्था गरिएको छ।

हाल यहाँ दुप्चेश्वर गाउँपालिका, दुप्चेश्वर क्षेत्र बिकाश कोष र नेपाल सरकार संस्कृती तथा पर्यटन मन्त्रालय बाट बजेट बिनियोजन भई दुप्चेस्वर पार्क निर्माण भएको छ र यो निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पार्कको बीच भागमा भने गणेश पण्डितको सालिक राखिएको छ । त्यसैले यस पार्कको नाम दुप्चेश्वर गणेश स्मृति पार्क नामाकरण गरिएको हो । तिर्थालुहरुले यस पार्कमा बस्ने घुम्ने तथा फोटो सुट समेत गर्न पाउने छन् ।


दुप्चेश्वर महादेव मन्दिर प्रांगणमा हाल १०८ हिटी धाराको निर्माण गरिएको छ । यो धारा पनि निर्माण सम्पन्न हुन अझै केहि समय पक्कै लाग्ने छ , तर निर्माण कार्य भने निरन्तर भईरहेको नै छ । यो धारा आफ्ना स्वर्गीयहरुको स्मृतिमा तथा आफ्नै नाममा पनि यो धरामा लगानी गर्न लगाईएको छ । १ ओटा धारा बराबर १५००० रुपैयाँ लिई क्षेत्र विकाश कोषले नै यसको व्यवस्थापन गरिरहेको छ ।

दुप्चेश्वर मन्दिरको नजिक जुन ठाउ गगन चौर भनी चिनिन्छ, त्यहाँ बुद्दको ६ फिटको मुर्तिको प्रतिमा स्थापना गरिएको छ । बिशेस गरि बौद्ध धर्मावलम्बीहरुले यस स्थानमा आउँदा दुप्चेस्वर मन्दिर मात्रै नभई बुद्दको पनि दर्शन गर्न पाउन भन्ने हेतुले मुर्तिको स्थापना गरिएको हो । यसले बिस्व बन्धुत्यो तथा भाईचाराको सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने आसा गरिएको छ ।
प्रत्येक वर्ष धन्य पूर्णिमाको अवसरमा एक विशेष हप्ता लामो मेला लाग्छ। मेलामा करिव १ लाख मानिसले मेलाको अवलोकन तथा दर्शन गर्दछन । यस मेलाको व्यवस्थापन दुप्चेश्वर क्षेत्र विकाश कोष, दुप्चेश्वर गाउँपालीका र प्रसासन कार्यालय नुवाकोटले व्यस्थापन गर्दै आएको छ ।
काठमाडौं, सामाखुशीबाट केवल ७४ किलोमिटर टाढा रहेको यस मन्दिरको दर्शन गर्नको लागि सबैभन्दा छोटो र सजिलो सडक मार्ग सामाखुशी-टोखा-छरे बाटो हो। यो बाटो प्रयोग गरेर, तपाईं सार्वजनिक यातायातबाट साढे दुई घण्टामा दुप्चेश्वर पुग्न सक्नुहुन्छ। तपाईं आफ्नै सवारी साधन प्रयोग गरेर पनि सजिलै यहाँ पुग्न सक्नुहुन्छ। मन्दिरसम्म पुग्नको लागि पक्की सडकको व्यवस्था छ। गाडीबाट ओर्लेपछि, तपाईं प्रसिद्ध सूर्यमती गंगामा आफ्नो शरीर र मन शुद्ध गर्न सक्नुहुन्छ। र दुप्चेश्वर दर्शनको लागि, तपाईंले निश्चित रूपमा लगभग २०० सिँढी चढ्नु पर्नेछ। यी सिँढी चढ्दा तपाईंलाई कुनै पीडा महसुस हुनेछैन। यहाँको सुन्दर दृश्यले तपाईंलाई आफ्नो सबै थकान र पीडा बिर्साउनेछ।
दुप्चेश्वर आउने भक्तजनहरूलाई राम्रो खाना र आवासको व्यवस्था मिलाइएको छ। खान र बस्नको लागि प्रशस्त ठाउँहरू छन्। मन्दिर नजिकै ३-तारे होटलहरू पनि छन्। यहाँबाट आउने-जाने बसको व्यवस्था पनि छ।